संसद्लाई कुरा गर्ने हाेइन, काम गर्ने थलाे बनाउनुपर्छ : लेखनाथ दाहाल

नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमहरूबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद दाहाले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताउनुभएको हो । उहाँले पुराना नीति, योजना, कार्यक्रम र बजेटबाट नयाँ आवश्यकता पूरा नसकिने भन्दै त्यसमा नयाँपन खोज्नुपर्ने बताउनुभयो । उहाँले संसद् नागरिककाे आवाज बोल्ने थलोमात्रै नभई नागरिककाे अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो भएको पनि स्मरण गराउनुभयाे । सांसद दाहालले संसद्लाई कुरा गर्ने थलोको रूपमा नभई काम गर्ने थलोको रूपमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसद् नागरिककाे आवाज बुलन्द गर्नेमात्रै थलो होइन । संसद् नागरिककाे अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो पनि हो । काम गर्ने थलो हो । कुरा गर्ने थलोलाई काम गर्ने थलोमा रूपान्तरण गर्नैपर्छ । हामीले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट अहिलेको नयाँ आवश्यकता पूरा गर्न सक्दैनौँ ।’

सांसद दाहालले सरकारको सय दिन प्रधानमन्त्रीले प्रतिबद्धता गरेअनुरूप नै चलेको दाबी गर्नुभयाे । नागरिककाे दैनिकीसँग सम्बन्धित स–साना समस्या समाधान गर्न सरकार केन्द्रित रहेको उहाँको भनाइ छ । त्यस्तै आर्थिक सूचकाङ्कमा पनि सकारात्मक सुधार आएको उहाँले बताउनुभयो ।

 

Share your love