संविधान नमान्नेले एमालेलाई दाेष लगाउनु गलत: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधानमा हस्ताक्षर नै नगर्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्नु लज्जाको विषय भएको बताउनुभएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान नमान्ने पार्टीहरुसँग सहकार्य गर्ने दलहरुले एमालेले संविधान नै मानेन भन्दै आरोप लगाउनुको कुनै अर्थ नरहेको जिकिर गर्नुभयो । महासचिव पोखरेलले सिंगो आन्दोलनलाई संविधानवादको जञ्जालभित्र राखेर व्याख्या गर्ने कामको प्रयास भइरहेको बताउनुभयो ।

उहाँले घोषित रुपमा संविधान नै नमान्ने पार्टीहरुसँगको सहकार्यले संसदीय मूल्य, मान्यतामाथि प्रहार गरिरहेको बताउनुभयो । महासचिव पोखरेलले जनताको जनादेश खण्डित भएपछि फेरी जनतामा जानुपर्छ भन्ने लोकतन्त्रको विशेषता रहेपनि त्यसमाथि नै प्रहार भएको आरोप लगाउनुभयो । उहाँले नेकपा एमालेले संविधान नै मान्दैन भनेर आरोप लगाउनु जति मजाकको विषय अरु हुनै नसक्ने बताउनुभयो ।

महासचिव पोखरेलले नेपालको राजनीतिमा मुख्य दलहरु भनेको नेकपा एमाले र नेपाली कांग्रेस मात्रै रहेको दावि गर्नुभयो । नेकपा एमाले सम्पूर्ण वामपन्थी शक्ति भनेकै नेकपा एमाले रहेको बताउनुभयो । उहाँले सत्तारुढ दलहरुले आफ्नो चाहनाका लागि मात्रै अदालतको प्रयोग गर्ने गरेको आरोप लगाउनुभयो । राजनीतिक अस्थिरताका कारण नै नेपाल बन्न नसकेको उहाँले बताउनुभयो ।

Share your love