व्यापार घाटा १६ प्रतिशतले घट्यो, ४ महिनामा ५ खर्ब ३२ अर्ब रुपैयाँको सामग्री भित्रियो

सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको वैदेशिक व्यापार र व्यापार घाटा दुवैमा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार गएकाे वर्षको भन्दा यो वर्ष व्यापार घाटा झन्डै १६ प्रतिशतले घटेको छ ।

४ महिनामा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएकाे वर्षको चार महिनाको तुलनामा १८ दशमलव ८ प्रतिशतले कम हो । यस्तै चार महिनामा नेपालले ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यो गएकाे वर्षको तुलनामा ३३ दशमलव ३० प्रतिशतले कमी हो । ४ महिनामा नेपालको व्यापार घाटा ४ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ । सरकारले निजी प्रयोजनका लागि आयात हुने गाडी, सुपारी लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि व्यापारमा कमी आएको हो ।

४ महिनामा नेपालले २२ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल तथा ३९ अर्ब रुपैयाँको घिउ/तेल आयात गरेको छ । यस्तै ५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि कच्चा पदार्थ, १ खर्ब ८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, १२ अर्ब रुपैयाँको रासायनिक मल र बिउ, २१ अर्ब रुपैयाँको मार्बल र यसका उत्पादन, ४२ अर्ब रुपैयाँको फलाम र स्टिल आयात भएको छ ।

यस्तै नेपालबाट ४ अर्ब रुपैयाँको चिया कफी, साढे १५ अर्ब रुपैयाँको घिउ/तेल र बोसो, झन्डै २ अर्ब रुपैयाँको तयारी खाद्यान्न, १ अर्ब रुपैयाँको काठबाट बनेका हस्तकलाका सामग्री, १ अर्ब रुपैयाँको तयारी पोसाक लगायतका वस्तु निर्यात भएको छ ।

Share your love