विश्वकप क्रिकेट लिग-२ मा नेपालले २४ खेल खेल्दा ८ जित हासिल

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी १४ फेब्रुअरीदेखि २१ फेब्रुअरी (२ देखि ९ फागुन) सम्म कीर्तिपुर मैदानमा नामिबिया, स्कटल्यान्ड र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेल्दै छ।

२०१९ देखि २०२३ सम्मको यो यात्रामा नेपालले कुल ३६ खेल खेल्ने छ जहाँ २४ खेल नेपालले खेलिसकेको छ। अंक तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ। विश्वकपको ग्लोबल छनोट र एकदिवसीय वरीयता कायमै राख्नका लागि पनि यो प्रतियोगिता निकै महत्त्वपूर्ण छ।

नेपालका लागि बाँकी खेल जित्नै पर्ने दवाव छ। विश्वकप सपना कायम राख्न मात्र होइन, एकदिवसीय वरीयता जोगाउन पनि घरेलु सिरिजमा नेपाललाई हार्न छुट छैन। तर राष्ट्रिय टिम लामो समय प्रशिक्षकविहीन मात्र होइन, अभ्याससमेत गर्न पाएन।

साथमा नेपाल टी-२० लिगले खेलाडीको मानसिक रूपमा नै विचलित बनाएको छ। नियुक्तिबिना नै कन्ट्रयाकका रूपमा अहिले भारतीय प्रशिक्षक मनोज प्रभाकरले खेलाडीलाई अभ्यास गराइरहेका छन्।

नेपाल आफ्नो सातौँ सिरिजमा समग्रमा ४ खेल खेल्ने छ। यसअघि खेलेका ६ सिरिजबाट नेपालले हरेक टिमसँग २-२ खेल गरी एक सिरिजमा ४ खेलका दरले कुल २४ खेल खेलेको छ जसमा ८ जित र एक बराबरीको नतिजा निकाल्दा १४ खेलमा पराजित भएको छ।

अहिले अंक तालिकामा नेपाल २४ खेलबाट १८ अंकका साथ अंक तालिकाको छैटौँ स्थानमा रहेको छ।

प्रतियोगितामा नेपाल सहित स्कटल्यान्ड, ओमान, नामिबिया, युएसए, युएई र पपुवान्यूगिनी रहेका छन्। नेपालभन्दा पछि पपुवा न्यूगिनी मात्र रहेको छ।

जारी लिग-२ मा आफ्ना सबै खेल खेल्दा शीर्ष तीनमा पर्ने टोलीले कम्तीमा विश्वकपको ग्लोबल छनोट हुँदासम्म एकदिवसीय मान्यता पाउने छन्। तर लिग-२ को सातमध्ये पुछारका चार टिमको भने एकदिवसीय मान्यता गुम्ने खतरा रहेको छ। तर उनीहरूले पाउने एक अर्को मौकाको सदुपयोग गर्नुपर्ने हुन्छ।

पुछारका चार टिम र आइसिसीको तेस्रो श्रेणीको लिग (आइसिसी विश्वकप च्यालेन्ज लिग) बाट आउने शीर्ष दुई टिमबीच क्वालिफायर प्लेअफ हुने छ। जहाँ लिग-२ का चार र च्यालेन्ज लिगका दुई गरी कुल छ टिमबिच प्रतिस्पर्धा हुने छ। जहाँ शीर्ष चार टिमले एकदिवसीय मान्यतासहित लिग-२ मा स्थान बनाउने छन्।

Share your love