विपद् व्यवस्थापनमा समस्या भयाे भन्ने सुन्न नपराेस् : मन्त्री श्रेष्ठ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढङ्गले गर्न निर्देशन दिनुभएको छ ।

शुक्रवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिनुभएको हो । उहाँले पूर्वतयारीमा यथास्थितिवादी सोच र व्यवहार भएको भन्ने टिप्पणी आउने गरेको भन्दै आउँदा दिनमा कुनै पनि कमी हुन दिनु नहुने बताउनुभयो । मन्त्री श्रेष्ठले असावधानीका कारण, अकर्मण्यताका कारण वा निर्णय कार्यान्वयन गर्न नसकेका कारण पुरानै अवस्था दोहोरिएको आफूले सुन्न र हेर्न नपरोस् भनी सम्बन्धित निकायलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘सधैँ हाम्रो यथास्थितिवादी सोच र व्यवहार भयो भनेर टिप्पणी आउने गरेको छ । यद्यपि हामीले कानुन, संरचनामा केही परिवर्तन गरेका छौँ । तर पनि पूर्वतयारीको कुरामा कमी भयो भन्ने कुरालाई गहिरो आत्मसात् गर्नु जरुरी छ । तयारीलाई व्यवस्थित ढङ्गले, प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता छ । भएका निर्णय ठिक ढङ्गले कार्यान्वयन नभएर वा तयारी नपुगेर विपद् व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआओस् । यसमा सम्बन्धित प्राधिकरण र सम्बन्धित अरू सबै निकायले पनि राम्रोसँग ध्यान दिन म विशेष अनुरोध गर्न चाहन्छु ।’

सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले डोटी, बाजुरा, लमजुङ, खोटाङ र भोजपुर केन्द्रविन्दु भई भूकम्पबाट क्षतिग्रस्त घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै आउँदाे मनसुनकाे पूर्वतयारी तथा प्रतिकार्यको कार्ययोजना आउँदाे बैठकमा बनाउने पनि निर्णय भएको छ ।

Share your love