रोपाइ सकिएलगत्तै थारु समुदायमा सावनी पूजा

रुपन्देहीका थारु समुदायले रोपाइँ सकेपछि गरिने सावनी पूजा सम्पन्न गरेका छन् । रोपाइँ गर्ने क्रममा हलो र कोदालोले खनजोत गर्दा अनेकौं कीरा फट्याङ्ग्रा र विभिन्न जीवजन्तुसमेत मर्ने भएकाले त्यसको दोष नलागोस् भनेर प्रत्येक वर्ष तराईमा रोपाइँ सकेपछि सावनी पूजा गर्ने परम्परा रहिआएको छ ।

थारु साहित्यकार केवलप्रसाद थारुले रोपाइँ सम्पन्न भएकोमा खुसियालीका साथ थारु समुदायका धर्मगुरु, लामा तथा धामीलाई बोलाएर रातभरि जाग्राम पूजा गर्ने परम्परा रहेको बताउनुभयो । उहाँले साउन र भदौ महिनामा धेरै प्रकारका रोगब्याधिले सताउने, ज्वरो आउने, मलेरियालगायतका रोगबाट मुक्तिका लागि रोपाइँपछि थारु समुदायमा सावनीपूजा गर्ने र घर वरिपरि आएका भूतप्रेतलाई धपाउन रातभर जाग्राम बसेर भजन कीर्तन गर्ने गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय भने यो परम्परा थारु समुदायबाटै लोप हुने अवस्थामा पुगेको छ । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका –४ कुस्माहा टोलमा भने गत आइतवार धुमधामका साथ सावनी पूजा सम्पन्न गरिएको छ ।

स्थानीय दलबहादुर चौधरीका अनुसार थारु समुदायका महिला–पुरुष सबै मिलेर रातभरि जाग्राम बसेर भजन कीर्तन गरेको बताउँदै रोपाइँका क्रममा मरेका सबै कीरा फट्याङ्ग्रा, जीवजन्तुको शान्तिको कामना गर्ने परम्परा रहेको बताउनुभयो ।

कवि बमवहादुर थारुले थारु समुदायमा सावनी पूजा परम्परादेखि चल्दैआएको बताउँदै थारु जातिका गुरुवाले घर वरिपरि आएका भूतप्रेत भगाउन पूजा गर्ने र जाग्राम बसेर भजनकीर्तन गर्ने परम्परा रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय यो परम्परा लोप हुँदैगएको बताउनुभयो । पहिले थारु समुदायका गाउँमा अनिवार्य रुपमा सावनी पूजा गरिंदै आएकोमा पछिल्लो समय भने पूजा गर्ने क्रम हराउँदै गएको बताउनुभयो ।

रोपाइँको क्रममा घर वरिपरि देवी देवताहरु समेत आउने र डुल्ने गरेकाले देवी देवतालाई बिदाइ गर्ने परम्परा थारु समुदायमा छ । थारु समुदायले सामूहिक रुपमा पूजा गर्ने डिउहार थानमा रातभर भजन, नाचगान गरेर रोपाइँका बेला आएका देवी देवतालाई आ–आफ्नो स्थानमा गएर बस्न आह्वान गर्ने गरिएको साहित्यकार केवलप्रसाद थारुले बताउनुभयो ।

उहाँले आफूहरुले प्रत्येक वर्ष सैनामैना नगरपालिका –४ कुस्माहामा सावनी पूजा गर्दैआएको तर अरु थारु समुदायका गाउँमा भने यो पूजा हराउँदै गएको बताउनुभयो ।

Share your love