रोकिएको आणविक सम्झौताबारेको वार्ता थाल्न इरानले युरोपेली सङ्घसमक्ष दियो लिखित जवाफ

विश्वका शाक्ति देशसँग रोकिएको आणविक सम्झौता वार्तालाई पुनर्जीवन दिन इरानले लिखित जवाफ दिएको छ । रोकिएको वार्ता पुनः थाल्न तेहरानले लिखित जवाफ युरोपेली सङ्घसमक्ष प्रस्तुत गरेको हो ।

वार्ताका लागि सङ्घले मध्यस्थता गरेकाले इरानले लिखित जवाफ दिएको हो । जवाफका अन्तर्वस्तु बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन । इरानको समाचार समिति इर्नाका अनुसार इरानले पेश गरेका जवाफमा सङ्घको मध्यस्थतालाई स्वीकार गरिएको छैन । इरानले तीनवटा विषयमा केन्द्रित भएर जवाफ दिएको र त्यसमा अमेरिकाले मौखिकरूपमा व्यक्त गरेको सम्झौता निरन्तरताको प्रत्याभूतिलाई वार्ता एवं सम्झौताका दस्तावेजहरूमा समावेश गर्नुपर्नेमा जोड दिइएको छ ।

कट्टरपन्थी राष्ट्रपति इब्राहिम राईसीको नेतृत्वमा तेहरानले सम्झौतामा पुग्न भएको विलम्बका लागि अमेरिका दोषी रहेको दाबी गरेको छ । इरानको लिखित जवाफ प्राप्त भएको बताउँदै सङ्घको विदेश मामिला तथा सुरक्षा नीतिका प्रवक्ता नबिला मस्रालीले प्राप्त जवाफको अध्ययन भइरहेको बताउनुभएको छ ।

सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई एकपक्षीय रूपमा वार्ताबाट अलग्याएपछि इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको हो । त्यसपछि तेहरानमाथि एकपक्षीय प्रतिबन्धहरू पुनः लागू भएका थिए । तेहरानले आणविक सम्झौता कार्यान्वयनका लागि आफूमाथि लगाइएका प्रतिबन्धको फुकुवा गर्नुपर्ने अडान त्यागेको छैन ।

Share your love