रास्वपा सांसद डाँगीकाे माग– ‘सिंहदरबार, बालुवाटार, शीतल निवासमा स्वदेशी वस्तुमात्रै प्रयाेग गराैँ’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नुभएको छ ।

आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले शीतल निवास, सिंहदरबार, संसद् र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गर्नुभएको हो । संसदमा प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी वस्तु हुनुपर्ने सांसद डाँगीको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ ? ती कुराहरू अङ्कमा देखिने गरी किन लागू भएनन् ? त्यस्तै म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो ? प्रधानमन्त्री, सभामुखको कुर्सी कुन देशबाट आयात भएको हो ? सभामुख महोदय, सिंहदरबार, बालुवाटार, शीतल निवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ ।’

सांसद डाँगीले आन्तरिक उत्पादन बढाउनका लागि छलफल चलाउन पनि सरकारलाई सचेत गराउनुभयो ।

 

Share your love