रास्वपा संसदमा एमालेको पछि नलाग्ने, जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । बुधबार प्रतिनिधिसभाको बैठक बस्नुपूर्व रास्वपाले विमानस्थल भन्सारबाट भएको सुन तस्करी काण्ड लगायत अन्य भष्ट्राचारका काण्डमा संसदमा छलफल र सरकारको जवाफ माग गर्दै सो प्रस्ताव दर्ता गरेको हो ।

रास्वपाका उपनेता डोलप्रसाद अर्यालले समसामयिक विषयहरु सुन काण्ड लगायतका विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको बताए । उनले प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गर्ने प्रक्रियाको पछि नलागी संसदीय प्रक्रियाअनुसार अघि बढ्न माग गर्दै नियमावली अनुसार प्रक्रिया पूरा गरेर सार्वजनिक महत्वको विषय दर्ता गरिएको बताए ।

अर्यालले रातोपाटीसँग भने– ‘हामीले सुन काण्ड लगायत जुन भष्ट्राचारका मुद्धाहरु छन्, यसबारे सरकारले जवाफ दिनुपर्यो । सरकारले दिएको जवाफ चित्त बुझेन भने त्यसपछिको प्रक्रिया दोश्रो चरणमा भयो । अहिलेलाई हामीले सरकारको जवाफ खोजेका छौँ । जनताले चित्त बुझ्ने जवाफ चाहियो भन्ने कुरा हो हाम्रो ।’

उनले गृहमन्त्रालय, अर्थमन्त्रालय लगायत सम्बन्धित मन्त्रालयले संसदमा जवाफ दिनुपर्ने रास्वपाको माग रहेको उनले बताए । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक एमाले संसदीय दलको बैठक नसकिएका कारण निर्धारित समयमा बस्न सकेको छैन । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सुन तस्करी प्रकरणमा गृहमन्त्री, अर्थमन्त्रीको भूमिकामाथि प्रश्न उठाउने तयारी गरेको छ ।

r1r2

Share your love