राष्ट्रपतिले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने -जसपा पर्सा

जनता समाजवादी पार्टी  जसपा पर्साका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदम मधेसीलाई नागरिकताबाट बन्चित गर्ने षडयन्त्र भएको बताएका छन् ।

वीरगन्जमा शनिबार जसपा पर्साले आयोजना गरेको असंवैधानिक कदम बारे अन्तरक्रिया कार्यक्रममा जसपाका नेताहरुले राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओलीको ईशारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोप लगाए । उनीहरूले नागरिकता विधेयक फेल गराउनु सदियों देखिको मधेसी माथिको विभेदलाई निरन्तरता दिनु भएको पनि बताए ।

जसपाका नेता ,कार्यकर्ताका साथै उक्त पार्टी निकटका बुद्धिजीवी , प्राध्यापक,शिक्षक , अधिवक्ताहरु सहभागी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारी र त्यसमा भूमीका खेल्ने एमाले पार्टीको जनताका बिचमा गएर भण्डाफोर गर्नुपर्नेमा जोड पनि दिए ।

उनिहरुले अंवैधानिक कदम चाल्ने राष्ट्रपति भण्डारीलाई नैतिकताको हिसाबले अब एक क्षण पनि पदमा बस्न नमिल्ने भएकाले राजिनामा दिएर राष्ट्रपति पदको गरिमालाई कायम राख्न सुझाव पनि दिए । गैर संवैधानिक कदम चाल्ने राष्ट्रपति भण्डारीको बचाउमा उत्रिएर एमाले र उसका अध्यक्ष केपि ओली मधेस र मधेसी विरोधी रहेको तथ्य फेरि पनि पुष्टि भएको उनिहरुको तर्क थियो ।

ओलीले आफनो पालामा ल्याएको नागरिकता अध्यादेश सहजै प्रमाणीकरण गरिदिने राष्ट्रपतिले अहिलेको सरकारले ल्याएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा उनको दलीय चरित्र उदाङ्गिएको जसपाकम नेताहरुको भनाई थियो ।

Share your love