राष्ट्रपतिमा सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

राष्ट्रपतिका लागि नेकपा (एमाले) बाट उपाध्यक्ष सुवास नेम्वाङले मनोनयपत्र दर्ता गर्नु भएको छ । शनिबार संघीय संसद् भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन–२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो ।

उहाँको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहनु भएको छ भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहनु भएको छ ।

उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताउनुभएको छ । उहाँले आफू सबै हिसाबले संविधानको परिपालना गर्न लाग्ने दाबी गर्नुभयो ।

उहाँले स्वस्थ प्रतिष्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भुमिका हुने बताउनु भयो । उहाँले व्यवहारमा जनताको राष्ट्रपति अनुभुत हुने ढंगले काम गर्ने प्रतिवद्धता जनाउनु भयो । संविधान सभा अध्यक्ष एवं पूर्व सभामुखसमेत रहनुभएका उहाँले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागि पर्ने बताउनु भयो ।

Share your love