राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गर्नु भएकाे छ ।निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति भण्डारीसमक्ष पेस गरेपछि उहाँ परामर्शमा रहेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीकाले जानकारी दिनुभयो । शनिबार बिदा रहेकाले त्यसलगत्तै कार्यालय खुलेको दिन राष्ट्रपतिज्यूबाट सरकार गठनका लागि आह्वान हुनसक्ने उहाँले बताउनुभयो ।

प्रमुख स्वकीय सचिव अधिकारीले प्रतिनिधि सभामा कुनै दलको एकल बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दललाई बहुमत पु¥याउन आह्वान गर्नुहुने सम्भावना रहेको बताउनुभयो । यसको तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । आयोगले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेपछि राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आह्वान गरिरहँदा दलहरू पनि आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरू एक र बहुपक्षीय छलफलमा हुनुहुन्छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरूले परामर्श तीव्र पार्नुभएको छ । त्यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि विभिन्न दलका नेताहरूसँग भेट तथा परामर्श गरिरहनुभएको छ ।