रामबाबुले घरमै पाए नागरिकता

जिल्ला प्रशासन कार्यालय धनुषाले जन्मजात अपाङ्ग रामबाबु महतोलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरका स्वर्गीय रामसागर महतोका २१ वर्षीय छोरा रामबाबुलाई प्रशासनले घरमै पुगेर नागरिकता दिएको हो ।

शुक्रबार रामबाबुलाई धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डे, सहायक प्रजिअ अनुज भण्डारी लगायतका अधिकारीले नागरिकता प्रदान गरेका हुन् ।  नागरिकता फाँटका अधिकृत बालमुकुन्द शर्माद्वारा हस्ताक्षरित वंशजको नागरिकता दिन उनी स्वयम् र अर्का अधिकृत निरज श्रीवास्तव तथा नायब सुब्बा रामत्रिपाल महतो पनि चित्रपुर पुगेका थिए ।

साथै बटेश्वर गाउँपालिकाका अध्यक्ष रामआशिष महतो, प्रमुख प्रशासकीय अधिकृत राजगिर महतो, वडा नं. १ का वडाध्यक्ष अशोक महतो लगायत गाउँपालिकाका कर्मचारीहरु पनि त्यहाँ पुगेका थिए ।

करिब डेढ दशक अघि बुबा रामसागर गुमाएका रामाबु जन्मजात अपाङ्ग हुन् । आफै उठबस, खान लाउन, बोल्न समेत नसक्ने रामबाबुलाई आमा तेतरी देवीले पालनपोषण गर्दै आएकी छन् ।  उनले १६ वर्ष पुगेपनि नागरिकता नबन्दा चार वर्षदेखि अपाङ्गता भत्ता पाउन सकेका थिएनन् ।

तेतरीको एकल महिला सामाजिक सुरक्षा भत्ता तथा जेठो छोरा मनोज कुमार महतोको ज्याला मजदुरीबाट घर चलिरहेको थियो । संशोधित नागरिकता विधेयक पास भएपछि उनले जन्मसिद्धका आधारमा नागरिकता पाएका हुन् ।

जन्मसिद्धका आधारमा रामबाबुजस्तो अशक्त सन्तानलाई पहिलोपटक घरमै पुगेर नागरिकता प्रदान गरेको धनुषाका सहायक प्रजिअ अनुज भण्डारीले बताए । पण्डेले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कानुनी प्रक्रिया पुर्याएर यथाशीघ्र रामबाबुलाई भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् ।

रामबाबुकी आमाले नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा जान असहज भएको भन्दै घरमै नागरिकता उपलब्ध गराइदिने वातावरण बनाइदिन निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा रामबाबुलाई कागजात प्रक्रिया पुर्याएर प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको हो ।

Share your love