नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र युएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्शाडले शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग संयुक्त रूपमा युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ गर्नुभएको छ ।

दुई करोड अमेरिकी डलर (करिब २ अर्ब ६२ करोड रुपैयाँ) बजेटसहितको उक्त पाँच–वर्षे कार्यक्रमले नेपालका मधेस र लुम्बिनी प्रदेशहरूमा सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउने अमेरिकी दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यस क्रियाकलापमार्फत युएसएआईडी र नेपाल सरकारले राष्‍ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापनसँग सम्बन्धित संस्था र प्रणालीहरूलाई सुदृढ र उन्नत बनाउन साझेदारी गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ  ।

उक्त कार्यक्रममा स्थानीय सरकारका मेयर र उपमेयरहरूसहित मधेस प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको उपस्थिति थियो ।

कार्यक्रममा अमेरिकी राजदूत डिन थम्पसनले नेताहरू नागरिकप्रति उत्तरदायी भएपछि लोकतन्त्र फस्टाउँने बताउनुभयो ।

अमेरिका र नेपालका सरकारहरूबीचको  यो संयुक्त क्रियाकलाप दुई देशबिचको ७५ वर्षभन्दा बढीको मित्रतामा आधारित छ ।

यसले महिला र अन्य सीमान्तकृत समुदायहरूको समावेशीकरणमा केन्द्रित हुँदै वित्तीय सङ्घीयतालाई जनताको पक्षमा काम गर्ने बनाउन नेपाललाई सहयोग पु¥याउने उल्लेख गरिएको छ ।

नेपालमा यो क्रियाकलापको कार्यान्वयन निजी क्षेत्रका कम्पनीहरू डेलोइट  र डब्लुएसपी  ले जर्जिया स्टेट युनिभर्सिटी  र नीति फाउन्डेसनसँग मिलेर गर्नेछन् ।