यसवर्ष हिउँदमा अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने

यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा/तापक्रमलाई जनाउँदछ ।

यसैगरी सरदर भन्दा कम वर्षा/तापक्रम भन्नाले क्रमशः ३३.३ प्रतिशत भन्दा कम र बढी भन्नाले ६६.६ प्रतिशत भन्दा बढीको वर्षा/तापक्रमलाई जनाउँदछ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशको रुकुम–पश्चिम, रोल्पा, प्युठान बाहेकका जिल्ला, गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा, तनहुँ, गोरखालगायतका मध्य तथा पूर्वी जिल्ला, वाग्मती प्रदेशको दोलखा र प्रदेश नं १ का ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु लगायतका उत्तरी जिल्लामा न्यूनतम तापक्रम सरदर हुने र बाँकी भू–भागमा सरदर भन्दा बढी तापक्रम हुने सम्भावना रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको उक्त विभागले हिउँद अवधि (मङ्सिर १५ देखि फागुन १६ गते) को वर्षा तथा तापक्रमको आँकलन सार्वजनिक गरेको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

Share your love