मैत्रीपूर्ण फुटबलका लागि भारत जाने टाेलीकाे बिदाइ

मैत्रीपूर्ण फुटबलका लागि भारत जान लागेको राष्ट्रिय महिला टोलीलाई आइतवार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिदाइ गरेको छ ।

ललितपुरकाे एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाइ गरेका हुन् । २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमवार भारत प्रस्थान गर्नेछ । गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ ।

बिदाइपछि बोल्दै नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले छोटो समयको तयारी भए पनि टोलीले सुखद नतिजा निकाल्ने बताए । दुई हप्ताको अभ्यासमा राम्रो टोली तयार भएको र साफमा भारतलाई हराएकोले खेलाडीमा मनोबल उच्च रहेको प्रशिक्षक थापाले बताउनुभयो । भारत दक्षिण एसियाको बलियो टोली भएको र भारतसँग खेल्दा खेलाडीलाई राम्रो अनुभव हुने भन्दै मैत्रीपूर्ण खेलमा आफ्नो लक्ष्य सुखद नतिजा रहेको प्रशिक्षक थापाले बताए ।

यस्तै कप्तान एञ्जिालले साफपछि हुन लागेको मैत्रीपूर्ण खेलमा सुखद नतिजालाई निरन्तरता दिने बताइन् । उनले आफ्नो टोलीको मनोबल उच्च रहेको र भारतलाई हराउँदै साफ उपाधि दिलाएपछि टोलीको स्तर पनि बढेको बताइन् । टोलीमा अनुभवी र नयाँ प्रतिभावान् खेलाडी समावेश भएको भन्दै राम्रो खेल हुने अपेक्षा कप्तान एञ्जिलाकाे छ । भारतसँगको मैत्रीपूर्ण खेल आउँदाे ओलम्पिकका लागि अनुभव सङ्गाल्ने अवसर भएको भन्दै मनोबल उच्च बनाउन जितेर आउने उनले बताइन् ।

पहिलो पटक राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बनेका थापाले नेपाली महिला फुटबल टोलीलाई आधुनिक फुटबल खेलाउने तयारीमा छन् । एन्फाले मैत्रीपूर्ण खेललाई ओलम्पिक छनोट खेलमा अनुभव खेलको रूपमा हेरेको छ । नेपाली टोलीले भारतसँग चेन्नईमा फागुन ३ र ६ गते मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।

Share your love