मूल्यवृद्धि ८ दशमलव १९ प्रतिशत पुग्यो

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो २ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गएकाे भदौ मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८ दशमलव १९ प्रतिशत पुगेको छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

राष्ट्र बैंकको गएकाे भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार मरमसलामा ४५ दशमलव ४६ प्रतिशतसम्म मूल्यवृद्धि देखिएको छ । त्यस्तै चिनी तथा चिनीजन्य वस्तुमा १७ दशमलव ८६, तरकारीमा १४ दशमलव ५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३ दशमलव ३८ र दुग्ध पदार्थ तथा अण्डामा १२ दशमलव ६० प्रतिशत मूल्य बढेको छ । यो अवधिमा घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने १३ दशमलव ०८ प्रतिशतले घटेको छ ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५ दशमलव ५५, विविध वस्तु तथा सेवाहरू १२ दशमलव २१ प्रतिशत, शिक्षा क्षेत्रमा ९ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुमा ८ दशमलव ११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा ६ दशमलव ५९ प्रतिशतले मूल्य बढेको छ । भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रास्फीति ० दशमलव १८ प्रतिशतले घटेको छ ।

यो अवधिमा काठमाण्डाै उपत्यकाको मुद्रास्फीति ९ दशमलव ८३ प्रतिशत, तराईको ७ दशमलव ०३ प्रतिशत, पहाडको ८ दशमलव ०९ प्रतिशत र हिमालको ११ दशमलव ३२ प्रतिशत रहेको छ ।

Share your love