प्रतिनिधिसभामा सांसदहरुले मिटरव्याज पीडितहरूसँग सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसदहरुले मिटरव्याज पीडितको समस्या, समयमा मल नपाउँदा किसानहरू मार्कामा परेको समस्या, बैङ्क तथा वित्तीयहरूको देखा परेका समस्याहरूलाई तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी सांसदहरुले हवाई क्षेत्रमा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्ने, विपद्को जोखिमबाट मुक्त हुनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने, भूमिहीन समस्या समाधानका लागि राजस्व पुनरावलोकन गरी अव्यवस्थित बसोबास तथा भूमिहीनलाई पुर्जा वितरण गर्नुपर्ने लगायतका विषयमा संसदमा आवाज उठाउनु भएको हो ।

सांसदहरु ठाकुर प्रसाद गैरे, तेजुलाल चौधरी, दामोदर पौडेल (बैरागी), दिनेश कुमार यादव, दीपक बहादुर सिंह, दिलेन्द्र प्रसाद बडू, दुर्गा राई, देवेन्द्र पौडेल, धनराज गुरुङ,ध्रुव बहादुर प्रधान, नागिना यादव, निशा डाँगी, नैनाकला थापा , पदम गिरी, पुष्पबहादुर शाह, प्रदीप पौडेल, प्रेम सुवाल, बद्री प्रसाद पाण्डे, वासुदेव घिमिरे शून्य समयमा समसामयिक विषयवस्तुमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जसपाबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित भई आउनुभएका मञ्जु शर्मा अन्सारीलाई हार्दिक बधाई ज्ञापन गर्नुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको बैठक जारी छ ।