महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलामैत्री बजेट ल्याउनका लागि सम्बन्धित मन्त्रालयबीच छलफल भइरहेको बताउनुभएको छ । मन्त्री चौधरीले गृह, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयबीच आगामी आर्थिक वर्षको बजेट महिलामंत्री बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभएको हो ।

बिहीबार काठमाडौंमा आयोजित शिक्षा सम्मेलनमा बोल्दै उहाँले किशोरीमैत्री बजेटका लागि पनि मन्त्रालयले पहल गरिरहेको बताउनुभयो । महिलाहरुका लागि उद्यमी शिक्षा, साक्षरता शिक्षा, प्रौढ शिक्षा भनेजस्तै किशोरीहरुका लागि पनि लैंगिकमैत्री भनेर बजेट ल्याउन आफूले पहल गरिरहेको मन्त्री चौधरीको भनाई थियो ।

उहाँले स्थानीय तहमा पूर्वाधारको अभावमा किशोरीहरुको सेनिटरी प्याडसम्बन्धि कार्यक्रम प्रभावकारी ढंगले लागू हुन नसकेको पनि बताउनुभयो । उहाँले सो कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्न आफूले फिनल्याण्ड सरकारसँग छलफल गरिरहेको समेत बताउनुभयो । मन्त्री चौधरीले अपांगता भएका व्यक्तिहरुलाई विशेष खालको सुविधा दिनुपर्छ भन्नेमा पनि सरकार दृढ रहेको बताउनुभयो ।

Share your love