मधेस प्रदेशसभामा दलकाे संख्या बढेपछि कार्यालय व्यवस्थापनमा चुनाैती

मधेस प्रदेशसभामा दलको संख्या बढेपछि कार्यालय व्यवस्थापन चुनौती बनेको छ। प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित गरी १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा यस पटक १० दलको प्रतिनिधित्व भएको हो। दश दलमध्ये ७ दल राम्रै स्थितिमा हुँदा तीन दल समानुपातिक तर्फ १-१ सिट पाएका छन्। यस्तै, ६ जना स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य छन्।

२०७४ को निर्वाचनमा ६ वटा दलको प्रतिनित्वि हुँदा पछि एमाले विभाजन भएपछि ७ दलको प्रतिनिधित्व रहेको थियो। तर यस पटकको निर्वाचन मत परिणाम अनुसार १० दलले प्रदेशसभामा आफ्नो प्रतिनिधित्व गरेपछि संसदीय दलको कार्यालय व्यवस्थापन चुनौती बनेको हो।

तत्कालीन शिक्षा कार्यालयको भवन र परिसरमा प्रदेशसभा कायम रहेको छ। प्रदेशसभा सचिवालयका सचिव रन्जितकुमार यादवले यो भवन पहिलाकै रहेकाले प्रदेशसभा अनुसारको संरचना नरहेकोले यस पटक दलको संख्या बढेपछि कार्यालय व्यवस्थापनमा चुनौती रहेको बताए।

यसपटकको निर्वाचनबाट प्रदेशसभामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक प्रदेश प्रवेश गर्दैछ।

तीनै दलको संसदीय दलका नेताका लागि कार्यालय आवश्यकको आवश्यकता पर्छ। नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागत, पहिलो बैठक संचालन लगायतको तयारीका विषयमा अहिलेसम्म अनौपचारिक छलफल मात्रै भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

हालै सम्पन्न निर्वाचन मतपरिणाम अनुसार मधेस प्रदेशमा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ।यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ र जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएको हो। यता, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १-१ सिट पाएका छन् भने ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

Share your love