मधेसको मुख्यमन्त्रीमा सरोजकुमारलाई नै निरन्तरता दिने सहमति

मधेश प्रदेशमा तत्काल सरकारको नेतृत्व परिर्वतन नहुने भएको छ । शुक्रबार बालुवाटारमा भएको छलफलमा जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेको हो ।

सत्तारुढ गठबन्धनका दलहरुले उपचुनावअघि भएको सहमतिअनुसार मुख्यमन्त्री छाड्न दबाव दिएका थिए । नेताहरुका अनुसार १० वैशाखको उपचुनावपछि शीर्ष तहमा भएको छलफलमा जसपाले मुख्यमन्त्री छाड्ने सहमति भएको थियो ।
तर जसपाले मुख्यमन्त्री छाड्न चाहेन, बरु यादव नेतृत्वकै सरकारमा आउन अरु दलाई प्रस्ताव गरेको थियो । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने पूर्वसहमति अनुसार मुख्यमन्त्री फेरिनुपर्ने बताएका थिए ।

तर शीर्ष नेताहरुको उपस्थितिमा लगातार दुई दिन भएको छलफलमा तत्काल जसपा नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले बताए । उनले अघि भने, ‘कसले कति र कहिले नेतृत्व गर्ने विषयपछि गठबन्धनको बैठक बसेर टुंग्याउने निर्णय भएको छ ।’

उनकाअनुसार तत्काल यसै प्रदेश सरकारमा कांग्रेस, लोसपा र नेकपा एकीकृत सहभागी हुन्छन् ।

मन्त्रालय भागवण्डाबारे सहमति खोज्ने जिम्मा भने प्रदेशकै नेताहरुलाई दिइएको मधेस प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजे जनकपुरमै गठबन्धन घटक दलका संसदीय दलका नेताहरुको बैठक बसेर मन्त्रालय टुंग्याइने छ ।

गठबन्धन फेरिएसँगै २२ चैतमा एमालेले सरकार छाडेको थियो, तर कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएका छैनन् । मुख्यमन्त्रीसहित ११ मन्त्रालय मधेश प्रदेश सरकारमा एमालेले छाडेको चार मन्त्रालय खाली छ । जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय जसपा लिएको छ भने जनमत पार्टीले दुईवटा र माओवादी केन्द्रले एउटा मन्त्रालय लिएको छ ।

Share your love