मकवानपुरका स्थानीय तहको ३१ करोड ७४ लाख अनुदान कटौती
चालु आर्थिक वर्ष २०८०/८१ का लागि मकवानपुरका स्थानीय तहले पाउने वित्तीय समानीकरण अनुदान भारी कटौती भएको छ । ९ माघको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई पठाउने बजेट घटाउने निर्णय गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा संघीय सरकारले यस वर्षका लागि स्वीकृत गरेको बजेटमा देशभरका स्थानीय तहमा २५.८९ प्रतिशत बजेट घटाएर पठाउने भएको हो ।
यसैगरी थाहा नगरपालिकाको ३ करोड २१ लाख ३ हजार ६ सय, भीमफेदी गाउँपालिकाको २ करोड ५२ लाख ९४ हजार ५३०, मकवानपुरगढीको २ करोड ५२ लाख १६ हजार २६० रुपैयाँ समानीकरण अनुदान घट्ने भएको छ । बकैया गाउँपालिकाको ३ करोड १ लाख ६१ हजार ८५०, बागमतीको २ करोड ३ हजार २७०, मनहरी गाउँपालिकाको ३ करोड ११ लाख ७१ हजार ५६०, कैलाश गाउँपालिकाको २ करोड ३० लाख ९३ हजार ८८० र राक्सिराङ गाउँपालिकाको २ करोड ४२ लाख ७ हजार १५० रुपैयाँ बजेट घट्ने भएको हो ।
संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध गराउने ४ प्रकारका अनुदानमध्ये वित्तीय समानीकरण कुनै शर्त विना नै तल्लो सरकारले आफ्नो बजेट बनाएर खर्च गर्न सक्ने अनुदान हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले संघीय सरकारबाट प्राप्त भएको अनुदानको रकम तोकिएको प्रयोजनमा मात्रै खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।
अनुदान घटेर आउँदा जिल्लाका सबै स्थानीय तहको बजेटको आकारमा पनि प्रभाव पर्ने देखिएको छ । मकवानपुरगढी गाउँपालिकाका योजना शाखा प्रमुख प्रकाश न्यौपानेले अनुदान घटेर आउँदा बजेटमा प्रभाव पर्ने बताए । स्थानीय तहको वार्षिक स्वीकृत बजेट संघीय सरकारले कटौती गरेपछि योजना कार्यान्वयमा कठिन हुने थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए ।