भ्रष्टाचार आरोपी बचाउन बयान फेर्ने ३ जनाविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

सरकारी साक्षीका रूपमा पेस गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जीवी आचार्य र रत्नप्रसाद आचार्यविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकमा रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियरले घुस लिएकोसम्बन्धी मुद्दामा उनीहरूलाई साक्षीका रूपमा अदालतमा पेश गरिएको थियो । तर इन्जिनियर भोगेन्द्रप्रसाद साहसमेतको मुद्दामा घुसबापतको रकम दिएको भनिएका उनीहरूले बयान फेरेका थिए ।

विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएकोले समुन्द्र र चिरञ्जीवीविरुद्ध २९ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । यस्तै रत्नप्रसाद आचार्यले ८५ हजार रुपैयाँ घुस दिई कसुर गरेको देखिएको भन्दै त्यही बराबरको बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

 

Share your love