भीम रावलसँग संवादका लागि एमालेद्वारा तीन सदस्यीय टोली गठन

नेकपा (एमाले) ले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

शनिवार आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले नेता रावल पार्टीको विधि र विधान विपरीत चलेको निष्कर्ष निकाल्दै संवादका लागि टाेली गठन गरेकाे हाे।

पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा बनेकाे टाेलीमा पार्टीका सचिव एवम् सुदूरपश्चिम प्रदेश कमिटीका इञ्चार्ज लेखराज भट्ट र सह-इञ्चार्ज कर्ण थापा सदस्य हुनुहुन्छ ।

पूर्वउपाध्यक्ष समेत रहनु भएका रावल पार्टीको विधि र विधान विपरीत चलेकाले यस सम्बन्धमा संवाद गरी आवश्यक निर्णय लिन टोली गठन गर्नु परेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।

नेता रावलले हालैसम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पनि पार्टीलाई सहयोग नगरेको स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरुको गुनासो आएपछि एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली नै गठन गरेको हो।

 

Share your love