भारतीय जनता पार्टीको एक वर्षको आम्दानी २३ अर्ब ६१ करोड भारुभन्दा धेरै

भारतका मुख्य राजनीतिक दलहरुको आम्दानीमध्ये झण्डै ७७ प्रतिशत हिस्सा सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) को मात्रै रहेको खुलेको छ । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) को प्रतिवेदनमा छ वटा राजनीतिक दलले आर्थिक वर्ष २०२२/२३ को आम्दानी सार्वजनिक गरेका छन् ।

गएको आर्थिक वर्षमा छ वटा दलले ३० अर्ब ७७ करोड भारु आम्दानी गरेकोमा भाजपाको मात्रै २३ अर्ब ६१ करोड भारु रहेको छ । एडीआरका अनुसार छ वटा राष्ट्रिय दलहरूको कुल आयको ७६ दशमलव सात प्रतिशत हिस्सा भाजपासँग छ ।

एनडीआरका अनुसार एकै वर्षमा भाजपाको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२१/२२ मा भाजपाको आम्दानी १९ अर्ब १७ करोड रहेकोमा २०२२/२३ मा बढेर २३ अर्ब ६० करोड पुगेको छ ।

दोस्रो स्थानमा रहेको कांग्रेस आईले भने जम्मा चार अर्ब ५२ करोड भारु मात्रै आम्दानी घोषणा गरेको छ । मुख्य छ वटा दलको आम्दानीमा कांग्रेसको हिस्सा १४ दशमलव ७० प्रतिशत रहेको छ ।

त्यसैगरी आम आदमी पार्टीको आम्दानी ८५ करोड १७ लाख भारु रहेको छ । आम आदमीले पनि एक वर्षमा झण्डै दोब्बरले आम्दानी बढाएको हो ।

 

Share your love