भारतद्वारा नेपाललाई दुई सय डायलासिस मेसिन हस्तान्तरण

भारत सरकारले दुई सय वटा मृर्गौला डायलासिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहकाबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सोही मेसिन हस्तान्तरण गर्नुभएको हो । करिब १ वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सोही मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले डायलिसिस मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

साेही अवसरमा उहाँले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गर्नुभयो । मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई डायलिसिस मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो । भारतले कोभिड संकटका समयमा पनि १ सय ३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।

Share your love