भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा

भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नवलपरासीले ३३ लाख बढीको चिनीसहित २ ट्रक नियन्त्रणमा लिइएकाे छ ।सशस्त्र प्रहरीको गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो । ट्रकमा चिनी बोकेर लैजाँदै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो ।

एक ट्रकमा ४ सय २० बोराका दरले रहेको चिनी ८ सय ४० बोरा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ हेड क्वाटर नवलपरासीका सूचना अधिकारी डीएसपी केशवराज थापाले जानकारी दिनुभयो ।

कुल ४२ हजार के.जी. चिनीको मूल्य करिब ३३ लाख ६० हजार रहेको छ । अवैध कारोबारमा संलग्न ट्रक र चिनीको कुल मूल्य ९० लाख कायम गरिएको डिएसपी थापाले जानकरी गराउनुभयो ।

बरामद चिनी र ट्रकलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ । पछिल्लो पटक जिल्लाका सीमा नाकाबाट अवैधरुपमा चिनी र कपडाको तस्करी बढेपछि सशस्त्र प्रहरीले पैदल र सवारी साधनको गस्ती बढाएर नियन्त्रणको प्रयास गर्दै आएको छ ।

Share your love