बीपी र पुष्पलालको पूर्णकदको सालिक एकै ठाउँमा

मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा विश्वेश्वरप्रसाद (बीपी) कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

बीपी–पुष्पलाल बाटिका तथा शहीद स्मृति प्रतिष्ठानले सालिकको निर्माण गरेको हो । आइतवार बेलुकी दुइटै सालिक अनावरण गरिएको हो । देशका प्रथम निर्वाचित प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठको पूर्णकदको सालिक पहिलो पटक एकै ठाउँमा स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष रामबहादुर तामाङले बताउनुभयो ।

सालिकको अनावरण गर्दै मेचीनगर नगरपालिकाका मेयर गोपाल बुढाथोकीले नेपालको इतिहास बोकेका दुई विपरीत विचारका महान् नेताहरूको यो सालिकले विशेष महत्त्व राख्ने बताउनुभयो । कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, काेशी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीलगायतले बीपी–पुष्पलाल बाटिका र शहीद उद्यानका बारेमा चर्चा गर्नुभएको थियो ।

विसंं २०४८ देखि शीर्ष व्यक्तित्वको नाममा बाटिका स्थापना गरिएको थियो । हरेक वर्ष बीपी–पुष्पलाल बाटिकामा नेपाली कांग्रेस र नेकपा एमालेले उहाँहरूको स्मृतिमा वृक्षरोपण गर्दै आएको छ ।

वडा नम्बर ६ को कार्यालय नजिकै रहेको १२ कट्ठा जग्गामा फैलिएको सालिक तथा पार्क निर्माणका लागि पर्यटन कार्यालय काँकडभिट्टाले चार लाख ६० हजार, मेचीनगर–६ वडा कार्यालयले ५० हजार, मेचीनगर नगरपालिकाले एक लाख ८० हजार, कोशी प्रदेशकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट ३५ लाख ८६ हजार र अध्यक्ष तामाङले दुई लाख ५८ हजार याेगदान गरिसक्नुभएकाे छ ।

उद्यानमा मुख्य बाटोको दुवैतर्फ फूल रोप्ने, ड्रेन निर्माण, बाटोमा टायल्स र मार्बल लगाउने, मेरो काँकडभिट्टा लेखन, बेन्च निर्माण, सिँढी निर्माण, म्युजिक सिस्टम जडानले आन्तरिक तथा बाह्य पर्टकको मन लोभ्याउने गरेको छ ।

तस्बिर : सुभद्रा भट्टराईकाे फेसबुकबाट

 

अन्तिम अपडेट: जेठ ८, २०८०

Share your love