बाराको ४ वटै निर्वाचन क्षेत्रमा नमुना मतदान कार्यक्रम सञ्चालन

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालय बाराले जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा नमुना मतदान कार्यक्रम सञ्चालन गरेको छ ।

निर्वाचन कार्यालयले आज आइतबार बारा निर्वाचन क्षेत्र नं ३ को कलैयामा नमुना मतदान कार्यक्रम सञ्चालन गर्दैछ भने शनिबार ४ नं क्षेत्रको लागि नेरा मावि सिमरा, शुक्रवार बारा–२ को लागि महागढी नगरपालिका स्थित नमुना मावि र क्षेत्र नं १ को लागि कोहल्वीमा नमुना  मतदान कार्यक्रम सम्पन्न गरिसकेको छ ।

जिल्ला निर्वाचन अधिकृत सरोज चौधरीले निर्वाचन त्रुटी रहित ढंगबाट सम्पन्न गर्न मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम गराएर फिल्डमा खटाइसकेको बताएका छन्  । ‘निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई व्यवहारिक र सैद्वान्तिक दुवै शिक्षा दिएर  नमुना मतदान कार्यक्रम मार्फत प्रशिक्षित गरिसकेका छौ , अव उहाँहरू आज भोलिमा  फिल्डमा खट्नुहुन्छ’ जिल्ला निर्वाचन अधिकृत चौधरीले भने ‘निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्छ, मतपेटिका लिएर भाग्नसक्छन् वा मतदान कार्यक्रमलाई  नै प्रभावित पार्न सक्छन् त्यस्तो अवस्था आयो भने कसरी समाधान गर्ने भन्नका लागि नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको हो’ ।

आसन्न​ मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बारामा सम्पूर्ण तयारी भइसकेको निर्वाचन कार्यालयले जनाएको छ । ‘निर्वाचनको तयारी अन्तिम चरणमा आइसकेको छ, मतपेटिका लगायत मतदान सामग्री सबै तयारी अवस्थामा छ, तालिमबाट  निर्वाचनमा खटाउने कर्मचारी प्रशिक्षित गरिसकेका छौ, ३० गते मतदान सामग्री लिएर मतदान अधिकृतलाई पठाउँछौ’ चौधरीले भने ।

बाराको ४ वटा प्रतिनिधि र ८ वटा प्रदेशसभा सदस्य पद निर्वाचनका लागि जिल्लामा ५५५ वटा मतदान केन्द्रमा ४ हजार ४४० कर्मचारी खटाइएको निर्वाचन कार्यालयले जनाएको छ । साथै निर्वाचनमा सुरक्षा योजना बनाउँदा अति संवेदनशील, संवेदनशील र सामान्य गरेर मतदान केन्द्र र मतदान स्थललाई ३ भागमा विभाजन गरिएको  चौधरीले जनाएका छन् ।

Share your love