बागमतीले खतराको तह पार गर्यो, नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

बागमती नदीको बाढीले खतराको तह पार गरेको छ । बाढीले क्षति पुर्याउन सक्ने भएकाले रौतहट र सर्लाहीका नदी किनारका बासिन्दालाई बेलुकासम्मै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बागमतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा छ ।

बागमती जलाधार क्षेत्रकै हरिहरपुरगढी सिन्धुली, मरिन कुशुनटार र आसपास भारी वर्षा भएको छ । वर्षा जारी रहने सम्भावना छ । त्यसैले कोखाजोर खोला, मरिन खोला र आसपासका खोलामा आकस्मिक बाढीका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आज दिउँसो १ बजेसम्म उच्च सतर्कताका अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

यसैगरी बर्दियाको बबई नदीको चेपाङ बाढीमापन केन्द्रमा जलसतहले खतरा तह (६.८) मिटर पार गरेको छ । बाढी बढ्दोक्रममा रहेकाले बर्दियाको बबई तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसो २ बजेसम्मै उच्च सतर्कता अपनाउँदै सुरक्षित रहन महाशाखाले भनेको छ ।

Share your love