बयान दिन संसदीय समितिमा पुगे चोलेन्द्र

निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै छ ।

जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र छिरेका थिए । उनलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिंदै भित्रसम्म पुर्याएका थिए ।

उनलाई संघीय संसदका महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ । समितिको बैठक अब केहीबेरमा सुरु हुँदैछ ।  गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

आज बयान लिने भएपछि समितिले यसअघि नै प्रमाणहरू संकलन गरेको छ । सार्वजनिक सूचना जारी गरी प्रमाण माग गरेपछि समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।

समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट प्रमाणहरू प्राप्त भएका छन् । महाअभियोग सिफारिस समितिका अनुसार जबराविरुद्ध प्रमाणको ठूलो सूची तयार भएको छ ।
विभिन्न व्यक्ति र संस्थाले दिएका र समिति आफैंले संकलन गरेका प्रमाणहरुमा मुख्य गरी जबराको आचरणमाथि प्रश्न उठाइएका छन् । सोही आधारमा जबरालाई सोधिने प्रश्नहरु तयार भएका छन् ।
Share your love