प्रहरीलाई खसी नदिएको झोकमा चोरीको आरोप लगाइयो : सांसद सिंह

प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले केही दिन अघि सर्लाहीमा किसानले पालेको ४२ वटा खसी प्रहरीलाई खसी नदिएको झोकमा चोरी पैठारीको भनेर भन्सार पठाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुस्लिम समुदायले पालेको उक्त खसी आफैँ पालेको भए पनि प्रहरीले रिसिइबी साधेर फसाइको उल्लेख गरे । उनले नियन्त्रणमा लिइएको खसी फिर्ता गर्न माग गरे । उनले सरकारले किसानलाई गाई, भैँसी र बाख्रापालनका लागि प्रोत्साहन गर्नुपर्ने जिकिर गरे ।

प्रतिनिधि सभा सदस्य रेखा यादवले नेपाली नागरिकहरुलाई नागरिकता नदिएर अनागरिक नबनाउन सरकारको ध्यानाकर्षण गराइन् । यादवले काठमाडौँको माइतीघरमा आन्दोलनरत नीरज कामतले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा आत्मदाह गर्ने बाटोमा नपु¥याउन माग गरिन् ।

त्यसैगरी प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरूले विभिन्न जिल्लाहरूमा आन्दोलन गरिरहेको भए पनि सरकारले ध्यान नदिएको बताए । उनले समस्या समाधानका निम्ति पहल नभएमा नागरिकताबाट वञ्चित नागरिकहरूले सामूहिक आत्मदाह गर्ने अवस्था आउन सक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे ।

Share your love