प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको छ । यसअघि अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरेको थियो, तर सर्वोच्चले आफ्नै प्रशासनको त्यो निर्णय बदर गर्दै शुक्रवार हिजाे रिट निवेदन दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो ।

२०७६ साल माघ १ गते काठमाण्डौमा भएको कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएपछि अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारबाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । त्यतिबेला सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेस भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपिठ आदेश गरेको थियो ।

दरपिठ आदेशविरुद्ध निवेदकले सर्वोच्चमा अर्को निवेदन दिएका थिए । प्रचण्डको अभिव्यक्तिलाई लिएर सशस्त्र द्वन्द्वपीडित पक्षले कारबाहीको माग गर्दै प्रहरी प्रधान कार्यालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमासमेत उजुरी दिएका थिए।

 

Share your love