प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताउनुभएको छ ।

आइतवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गर्नुभएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले संसद्, सांसद र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउने गरी बोल्न नमिल्ने बताउनुभयो । त्यस्तै प्रतिपक्ष नेकपा एमालेले पनि प्रधानमन्त्रीको राजीनामा माग्नु बेठिक भएको उहाँले बताउनुभयाे । स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘बोल्ने अधिकार प्राप्त छ भन्दैमा संसदको, सांसदको र नागरिकको पनि आत्मसम्मानलाई असर पुर्‍याउने गरी प्रधानमन्त्रीले त के सांसदले पनि बोल्न मिल्दैन । प्रधानमन्त्रीले अभिव्यक्ति दिँदै गर्दाखेरी कमजोरी भएकै हो । त्यसरी नै माग्ने अधिकार छ भन्दैमा पाँच/पाँच महिनामा प्रधानमन्त्री बदल्न मिल्ने गरी एमालेले राजीनामा माग्नु पनि बेठिक हो । हरेक कमजोरीलाई सुधार्दै कुनै पनि सरकारले पाँच वर्षसम्म काम गर्नसक्ने अवस्थाको पो परिकल्पना गर्ने हो त । प्रतिपक्षले राजीनामा माग्नुलाई सस्ताे विषय बनाउनु हुँदैन ।’

महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद् विघटन गर्दा नै राजीनामा आउनुपर्ने भनी विगतको स्मरण गराउनुभयो ।

Share your love