प्रधानमन्त्रीकाे भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्रै गरिनेछ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने बताउनु भएकाे छ । प्रधानमन्त्रीको भारत भ्रमण भाेलिदेखि जेठ २० गतेसम्म हुँदैछ ।

उहाँले भारत भ्रमणका क्रममा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनु भयो । उहाँले भ्रमणका क्रममा व्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात सम्बन्ध, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग लगायतका मुद्दाहरुलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले भ्रमणमा नेपालमा जलविद्युत् उत्पादन बढाउने र उत्पादनमा भारतीय लगानी सुनिश्चित गर्नेकुरालाई मुख्य जोड दिइने बताउनु भयो । उहाँले भारतीय भूमि प्रयोग गरी बङ्लादेशमा ऊर्जा व्यापार गर्नेकुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रमणमा ट्रेड, ट्रान्जिट, कनेक्टिभिटी, इन्फास्ट्रक्चर डेभलपमेण्ट, फाइनान्सियल कोप्रेशन, जस्ता मुद्दाहरुलाई अगाडि बढाउनेछौँ । नेपालमा पावर उत्पादन गर्ने, जलविद्युत् आयोजनामा भारतीय लगानी सुनिश्चित गर्ने, एलोसीबाट ट्रान्समिशन लाइनहरु बनाउने र नेपाल—भारतका बीचमा लामो समय पावर पर्चेज डिल गर्ने र भारतीय ग्रिट र ट्रान्समिशनलाई प्रयोग गरेर बङ्लादेशमा विद्युत् निर्यात गर्नुपर्ने जस्ता महत्त्वपूर्ण कुरा सामेल छन् ।’

मन्त्री साउदले सरकारले भारतसँग गरेका सम्झौताहरुको पूर्ण कार्यान्वयन नहुने गरेको भन्दै यस भ्रमणमा भने सम्झौता गरेका कुराहरुको पूर्ण कार्यान्वयन हुने दाबी गर्नुभयो । उहाँले कार्यान्वयनको सुनिश्चित गर्न नसके भ्रमणमा भएका सम्झौताको कुनै अर्थ नरहने भन्दै भारतसँग बढाइएका एजेण्डाहरुको पूर्ण कार्यान्वयन हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डीपीआरलाई पनि अघि बढाउन प्रस्ताव राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रस्ताव आउने, कार्यान्वयनको पक्ष कमजोर हुने पक्ष कुनै न कुनै रुपमा दुवै पक्षबाट यस्तो भइरहेको छ । पञ्चेश्वरदेखि केही महत्त्वपूर्ण परियोजनाकाे निर्माणको प्रक्रियामा ढिलाइ भयो । पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डीपीआरलाई पनि अघि बढाउने हामी प्रयत्न गरिरहेका छौँ ।यसमा लगानीका लागि पनि अलिकति समय लाग्छ । एयर ट्रान्जिटको कुरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान सेवाका विषयहरु भारतसँग छन्, ती कुरामा पनि छलफल गरेर हामी टुङ्गोमा पुग्ने प्रयत्नमा छौँ।’

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउन भारतसँगका केही असमझदमारीलाई हटाउने बारेमा पनि छलफल हुने बताउनु भयो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल जानुहुने भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ ।

Share your love