प्रचण्ड नेतृत्वमा रहुन्जेलसम्म देश र जनताले दुःख पाइरहन्छन् : साह

नेकपा (एमाले) की नेतृ तथा निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको नेतृत्व गर्दासम्म देश र जनताले दुःख र सास्ती पाइरहने आरोप लगाएकी छिन् ।

उनले प्रचण्डलाई महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषले भनेजस्तै कुलंघारको संज्ञासमेत दिइन् ।

मंगलबार काठमाडौँमा भएको एक साक्षात्कारमा बोल्दै नेतृ साहले प्रचण्डप्रति आक्रोश पोख्दै भनिन्,‘महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषीले भनेका थिए–यो कुलंघार हो । यो रहुन्जेलसम्म यसले परिवार पनि नाश गर्छ । देशलाई पनि नाश बनाउँछ । जनतालाई पनि नाश बनाउँछ । यसले पूरै देशलाई स्वाहा बनाउँछ भनेको थियो ।’

उनले प्रचण्ड नेतृत्वमा रहेसम्म जनताका सपना, घाइते, योद्धालगायत सबैको सपनामा चोट पुग्ने पनि बताइन् ।

‘प्रचण्ड उहाँको आफ्नो व्यवहारले धोकेबाज देखिनुभएको छ । अब प्रचण्डसँग हाम्रो सहकार्य हुँदैन । हामी हिजोपनि एक्लै चुनाव लडेको हो । देशलाई अघि बढाउन एमाले एक्लै सक्षम छ’, साहको भनाइ छ ।

साहले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर ठूलो गल्ती गरेको पनि स्पष्ट पारिन् । उनले भनिन्,‘अब त उहाँको बुद्धि पलाउला भनेको त, प्रचण्डमा त्यस्तो देखिएन । सहिदका सपना पूरा होलान् भनेको त उहाँ व्यक्तिगत स्वार्थ र काममा लाग्नुभयो ।’

Share your love