पोखरा विमानस्थलमा आजदेखि रात्रिकालीन उडान

देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ ।

यसअघि याे विमानस्थलमा बिहान ६ बजेदेखि दिउँसाे ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो,’आईएफआर प्रणाली लागू भएसँगै अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण गर्ने विमानलाई कुहिरो लागेका बेला पनि सञ्चालन गर्न सकिने भएको छ, यसअघि हुस्सु र कुहिरोका कारण कहिलेकाहीँ विमानस्थल नै अवरूद्ध हुने गरेको थियो, आजदेखि रात्रिकालीन सेवा पनि सुरु हुन्छ ।’

यस विमानस्थल आजदेखि बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको बताइएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआर प्रणाली लागू भएसँगै आजदेखि रात्रिकालीन उडान सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का मानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

विमानस्थल गएको पुस १७ गतेदेखि सञ्चालनमा आएको थियो । विमानस्थलमा उपकरणको सहायताले विमान उडान तथा अवतरण गराउने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली जडान गरिएकाले रात्रिकालीन उडान भर्ने विमानलाई उडान तथा अवतरण गर्न निर्देश गर्ने प्राधिकरणले जनाएको छ ।

यसअघि पुरानो विमानस्थल भिजुअल फ्लाइट रुल्स (भीएफआर) प्रणालीका आधारमा सञ्चालन गरिएको थियो । यस प्रणालीमा एटीसी र पाइलटले आँखाले हेरेर उडान तथा अवतरण गर्दै आएका थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आजदेखि रात्रिकालीन सेवा दिने भएपछि निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले रात्रिकालीन उडानको तयारी गरेको बताइएको छ ।

पोखरा–काठमाण्डाै र काठमाण्डाै–पोखरा रात्रिकालीन उडानको तयारी भइरहेको बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एअरले यही फागुन २५ गतेदेखि पोखरा–काठमाण्डाै रात्रिकालीन उडानको तयारी गरेको छ ।

Share your love