पेट्रोलियम पाइपलाइनको ४० प्रतिशत काम सम्पन्न
अगामी ६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी नेपाल आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जमा दोस्रो चरण काम तीव्र गतिमा अगाडी बढेको छ । मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको अन्तर्गत पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्याङ्की निर्माणको काम धमाधम भइरहेको हो ।
पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको पूर्वाधार निर्माणको क्रममा २ अर्ब १४ करोड लगानी हुने निगमले जनाएको छ । जसमध्ये ६० करोड भारतीय आयल कर्पोरेसनको र १ अर्ब ५४ करोड नेपाल आयल निगमको लगानी रहेको छ । पाइपलाइनको दोस्रो चरणको परियोजना अन्तर्गत ४ वटा पेट्रोल ट्याङ्की निर्माण भइहरेको छ जसमा २ वटा भारतीय आयल कर्पोरेसनले र २ वटा नेपाल आयल निगमले निर्माण गरेको हो ।
आयल निगम प्रादेशिक डिपो अम्लेखगञ्जका इन्जिनियर प्रशान्त भट्टराईले आईओसीले ४१÷४१ लाख लिटरको क्षमता भएको २ वटा पेट्रोलको ट्याङ्की निर्माण गरेको छ भने नेपाल आयल निगमले ५/५ हजार किलोलिटरको २ वटा ट्याङ्की निर्माण गर्दैछ जसमा पेट्रोल र डिजेल भण्डारण गरिने बताएका छन् ।
साना २ वटा २५० लाख किलोटिरको ट्रान्समिक्स ट्याङ्की (एउटै पाइपबाट पेट्रोल र डिजेल आउँदा मिक्स भएको पदार्थलाई राख्न बनाइएको ट्याङ्की), पिएमसिसी भवन (विद्युतीय प्रवाह गर्ने रुम), ट्याङ्करहरूलाई चेकिङ गर्न गार्ड हाउस, कन्ट्रोल रुम, एकैपटक ८ वटा ठाउँबाट पेट्रोल ट्याङ्कीमा तेल भर्न ‘बे हाउस’ निर्माणको काम भइरहेको इन्जिनियर भट्टराईले जनाएका छन् ।
‘यही सालको डिसेम्बर सम्म काम सकेर जनवरी २४ भित्र विधिवत् रूपमा पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरेर पाइपलाइनबाट पेट्रोल ल्याउने काम सुरु हुन्छ’ निगमका इन्जिनियर भट्टराईले भने । अहिले आयल निगम अम्लेखगञ्ज डिपोमा जमिनमाथि १२ वटा डिजेल,पेट्रोल भण्डारण गर्ने ट्याङ्की रहेको छ ।
जसमा ३ वटा पेट्रोलको ट्याङ्की छ भने बाँकी डिजेलको हो । भण्डारण क्षमताको अभावमा अम्लेखगञ्ज डिपोले पूर्ण रूपमा (२४ सै घण्टा) पाइपलाइन सञ्चालन गर्न सकेको छैन । पाइपलाइनबाट प्रतिघण्टा औसतमा २ लाख ५० हजार लिटर डिजेल आउँदा भण्डारण गर्ने पर्याप्त ट्याङ्की नहुँदा समस्या भएको अम्लेखगञ्ज डिपो प्रमुख उपाध्यायले जनाएका छन् ।
मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनको पहिलो परियोजना अन्तर्गत २०७६ भदौदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । भने दोस्रो चरणको काम सन् २०२२ को डिसेम्बरदेखि सुरु भएको हो ।
निगमले दोस्रो चरणको काम सम्पन्न भएर पाइपलाइनबाट पेट्रोल आयात हुँदा निगमको ईन्धन खर्च र ढुवानी भाडा बापत मात्रै प्रतिमहिना १५ करोड वार्षिक १ अर्ब ८० करोड बचत हुने देखिन्छ ।
भारतको बरौनीदेखि अम्लेखगञ्जसम्म पेट्रोल ढुवानी गर्दा प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ खर्च हुन्छ भने पाइपलाइनबाट ल्याउन सके प्रतिलिटर ५० पैसामात्रै खर्च हुने निगमले जनाएको छ ।
अम्लेखगञ्जदेखि २५० किलोमिटर टाढा रहेको भारतको बरौनी पुगेर पेट्रोल ल्याउँदा प्रतिट्याङ्कर २० हजार लिटर पेट्रोलका लागि ४ सय लिटर डिजेल खर्च हुने गरेको छ ।
साथै पेट्रोल लिनका लागि बरौनी पुगेका नेपाली गाडीहरूले भारतीय दूतावास, बिहार सरकारको अनुमति लिनुपर्ने, अनेकन शुल्क, सवारी चालक र सहयोगीको खाने बस्ने खर्चका कारण सवारी धनीको मात्रै दैनिक ५ हजार खर्च हुने निगमको भनाई छ । तेलको अवैध चोरी, तेल उडेर जाने, लगायतका समस्या समाधानका लागि पनि पाइपलाइनबाट तेल ल्याउन सके खर्च धेरै कम हुने प्रादेशिक डिपो अम्लेखगञ्जका प्रमुख उपाध्यायको भनाई छ ।