पुसमा बजारमा तरलताको अभाव झनै बढ्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताउनुभएको छ ।

आज बुधवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बजारमा अहिले तरलतामा केही सहज भइरहे पनि पुस महिनामा भने तरलतामा चुनौती आउने बताउनुभयो । तरलताको चुनौतीलाई समाधान कसरी गर्ने भन्ने बारेमा राष्ट्र बैंक लागिपरेको उहाँको भनाइ थियो ।

गभर्नर अधिकारीले गएको आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब रुपैयाँ बजरमा पठाएको बताउनुभयो । राष्ट्र बैंकले आवश्यक कामहरू गरिरहे पनि अझै बजारमा सहजता भने भइनसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजारमा तरलतामा केही सहजता भइरहेको छ । सधैँ सहजता रहँदैन । पुसमा हामीलाई चुनौती रहन्छ । क्यालेन्डरअनुसार पुस महिनामा ३० अर्बको इस्यु छ । तर हामी कसरी तरलताको असरलाई सहज गर्ने भन्ने कुरामा लागिपरेका छौँ । हामीले आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम गरिरहेका छौँ । तैपनि बजारमा त्यो खालको सहजता भइरहेको छैन । कारण भनेको बीओपी हो । पछिल्ला दिनमा राम्रो खालको रेमिट्यान्स इन्फ्लो पाइरहेका छौँ । जसको असरस्वरूप हामीलाई तरलतामा सहजता भएको छ । यसलाई अझै सहज बनाउन एक खालको रिसाइक्लिङ बजारमा हुन जरुरी छ । लगेको ऋण केही न केही कोषमा तिरिनुपर्छ, तबमात्र तरलता सहज हुन्छ । बजारलाई हामी सहज बनाउँछौँ नै । तर बजारमा भएको अनुशासनहीन, फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरूलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्यौँ भने कहिल्यै सुधार हुँदैन । झन् गाह्रो पर्छ ।’

गभर्नर अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले अहिले आयात खुला गरिएको र अर्थतन्त्रलाई सन्तुलन गर्न विभिन्न नीति ल्याइएको पनि बताउनुभयो ।

 

Share your love