पुटिन नेटोको ढोका बन्द गर्न असफल : महासचिव स्टोल्टेनबर्ग

नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले फिनल्यान्डले मङ्गलवार सैन्य गठबन्धनमा सामेल हुनुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको विस्तार रोक्न असफल भएको देखाएको बताउनुभएको छ ।

‘राष्ट्रपति पुटिन नेटो विस्तारको ढोका बन्द गर्न चाहन्थे । आज हामी विश्वलाई देखाउँछौँ कि उनी यस कार्यमा असफल भएका छन् । आक्रामकता र धम्कीले मात्र काम गर्दैन’, स्टोल्टेनबर्गले भन्नुभएको छ ।

फिनल्यान्ड आज मङ्गलवार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सामेल हुँदैछ । फिनल्यान्डलाई औपचारिकरूपमा नेटोमा सामेल गराउनका लागि नेटो मुख्यालय रहेको बेल्जियमको ब्रसेल्समा विशेष बैठक बस्दैछ ।

फिनल्यान्डले यसअघि असंलग्नताको नीति लिए पनि छिमेकी देश रुसले युक्रेनमा आक्रमण गरेर देश नै कब्जा गर्न लागेको भन्दै सुरक्षाका लागि नेटोमा संलग्न हुने निर्णय गरेको हो । नेटोका कुनै पनि देशमा आक्रमण भएमा सबै सदस्य देशले आफैँलाई आक्रमण गरेको ठानेर सामूहिक प्रतिउत्तर दिने भएकाले नेटो सदस्यले सुरक्षित महसुस गर्छन् ।

 

Share your love