पीएम कपमा लुम्बिनी र आर्मी विजयी

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज आइतवार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

मूलपानी मैदानमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हरायो । आर्मीले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकी ३३ ओभर २ बलमा ९६ रन बनाउँदा अलआउट भयो । उसका समीर कँडेलले ३९ रन बनाए । आर्मीका सुशन भारीले पाँच तथा कुशल मल्ल र शाहब आलमले दुई/दुई विकेट लिए । आर्मी समूह ‘ए’ को तेस्रो र गण्डकी दोस्रो स्थानमा छ ।

यस्तै अर्को खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ३९ रनले हरायो । लुम्बिनीले दिएको दुई सय ९० रनको लक्ष्य पछ्याएको प्रदेश एकले ४९ ओभरमा अलआउट हुँदै दुई सय ५१ रनमात्रै बनायो । प्रदेश १ का सिद्धान्त लोहनीले ७४ र अङ्कित सुवेदीले ५२ रन बनाए ।  बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि देव खनालले ८९, आकाश त्रिपाठीले ४५ र सन्दीप रिजालले ४४ रन बनाए । बलिङतर्फ प्रदेश १ का दीपक जोशीले चार र श्रवन यादवले दुई विकेट लिए । लुम्बिनी समूह ‘बी’ को तेस्रो स्थानमा र प्रदेश १ चौथो स्थानमा छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरीएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश १ रहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले पाँच लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन् ।

 

Share your love