पानी परेपछि नेपाल र यूएईबीचको फाइनल खेल फेरि रोकियो, नेपालको उत्कृष्ट प्रदर्शन

एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल अहिले पानी परेर रोकिएको छ । उपाधिका लागि नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित भएको छ । त्यसअघि पनि केहीबेर पानी परेर रोकिएको खेल पुनः सुरु भएको थियो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको छ । अहिले मैदानमा कभरले छोपिएको छ । त्यसअघि १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको अवस्थामा पनि पानी परेको थियो ।

नेपालले लगातार विकेट लिएपछि यूएई दबाबमा छ । नेपालका ललित राजवंशीले ३, करन केसी र सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी र गुलशन झाले एक/एक विकेट लिएका छन् ।

आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

कीर्तिपुर मैदानमा डेढ महिना अगाडि भएको विश्व कप लिग–२ को अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्व कप ग्लोबल क्वालिफायरमा छनोट भएको थियो । पछिल्लो दुई महिनाको बीचमा नेपाल र यूएई ४ पटक आमनेसामने भएका छन् । जसमा यूएईमा भएको एउटा खेल नेपालले हारेको थियो भने बाँकी ३ खेल जितेको थियो । यूएईसँगको एउटा खेल हारेयता नेपालले अरु खेल हारेको छैन ।

आजको खेलमा पानी परेमा भोलि हुनेछ । तर निरन्तर पानीले खेल हुन नसके सुपर ओभर हुनेछ । सुपर ओभर पनि बराबर भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आईसीसीको एकदिवसीय वरीयता अनुसार माथि रहेको टोली एसिया कपमा पुग्नेछ ।

एकदिवसीय वरीयतामा नेपाल १४औँ र यूएई १९औँ स्थानमा छन् । खेल रद्द हुँदा नेपाल एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

 

Share your love