पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै, कुटनीतिक कर्मचारीको तलब रोकियो

पाकिस्तानमा आर्थिक सङ्कट गहिरिँदै गएको छ । आर्थिक सङ्कटका कारण सरकारले विदेशमा रहेका आफ्ना कुटनीतिक नियोग तथा राजदूतावासमा कार्यरत कुटनीतिक कर्मचारीको तलब रोकेको छ ।

कुटनीतिक कर्मचारीले दुई महिनादेखि तलब नपाएको र समस्यामा परेको स्रोतलाई उद्धृत गरी पाकिस्तान टुडेले जनाएको छ । समयमा तलब नपाएका कर्मचारीले आफ्ना बालबालिकाको विद्यालय शुल्क तिर्न समेत नसकेको गुनासो गरेका छन् ।

अर्थ मन्त्रालयले गएको डिसेम्बरमा सबै कर्मचारीको तलब निकासा गरिएको दाबी गरे पनि गएको मार्चको तलब प्राप्त नभएको कुटनीतिक नियोगका कर्मचारीले बताएका छन् । पाकिस्तानी विदेश मन्त्रालयले पनि समयमै तलब निकासा गर्न अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरेको छ ।

विदेश मन्त्रालयले मातहतका निकाय र विभागमार्फत् विदेशमा कार्यरत आफ्ना कर्मचारीका लागि रकम विनियोजन गरी हरेक महिनाको एक वा दुई तारिखमा कर्मचारीको खातामा रकम दाखिला गर्दै आएको थियो ।

 

Share your love