पहिरोले घर बगाउँदा प्युठानमा ६ जना बेपत्ता

दाङ – प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसो १२ बजेतिर आएको पहिरोले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

पहिरोमा बमबहादुरसहित उहाँकी श्रीमती, बुहारी र तीन जना बालबालिका बेपत्ता भएको वडाध्यक्ष घर्ती मगरले बताउनुभयो ।

पहिरो गएको ठाउँ नजिकै रहेका तीन घर परिवारलाई अन्यत्र सारिएको छ । सडक बन्द भएका कारण पहिरो गएका ठाउँमा झन्डै तीन घण्टासम्म पनि उद्धार टोली घटनास्थल पुग्न नसकेको प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।

सडक बन्द भएका कारण उद्धारका लागि तयारी अवस्थामा रहेको नेपाल आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोली बीच बाटोमै रोकिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

Share your love