पदयात्री सूचना व्यवस्थापन प्रणालीकाे सुरू

नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम) सुरुवात भएको छ ।

शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको हो । नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) सुरू गरिएको हो ।

यो मापदण्ड शनिबारबाट नै लागू हुने भएकाे छ । पदयात्री एवं पथ प्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभुत गर्न पदयात्रामा जाने पदयात्रीका लागि सम्बन्धित कम्पनीले टिप्स अनुमति पत्र लिनुपर्नेछ । अर्थात अबबाट कोही पनि समूहमा मिलर जटिल स्थानतर्फ (विशेष गरी) हिमालय क्षेत्रतर्फ एक्लै र समूहमा मिलेर बिना गाइड जान नपाइने भएको हो ।

तर हिमाल आरोहण अनुमति पत्र लिइ हिमाल आरोहण जाने आरोहीले टिप्स अनुमति पत्र लिनु पर्ने छैन । अध्यागमन विभागबाट अनुमति पत्र लिइ नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा जाने पर्यटकको लागि टिप्स अनुमति पत्र अनिवार्य नहुने बताइएको छ । मन्त्री किराँतीले यो व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । उहाँले आफ्नै नेतृत्वमा पर्यटन क्षेत्रलाई उकास्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले आजबाट नेपाल पर्यटन बोर्डले ट्रेकिङ इन्फरमेशन म्यानेजमेण्ट सिस्टमलाई लिएर नयाँ नियम जारी गरेको बताउनुभयो । उहाँले कोही पनि व्यक्तिले नेपालमा आजसम्म आफूले चाहेका ठाउँमा टिम लिएर जानसक्ने व्यवस्था रहेपनि अबबाट भने अनिवार्य रुपमा पथप्रदर्शक लैजानुपर्ने व्यवस्था लागू गरेको बताउनुभयो ।

नेपालमा प्रत्येक सिजनमा घुम्न गएका पदयात्रीहरु हराउने, मृत्यु हुने घटना बढेकाले सुरक्षाका लागि यो व्यवस्था लागू गरिएको बताउनुभयो । उहाँले पथप्रदर्शक लैजानैपर्ने व्यवस्थाले पदयात्राको क्षेत्र सुरक्षित हुने, रोजगारीको अवस्था सिर्जना हुने र नेपालका अहिलेसम्म पथप्रदर्शक नभएका कारण चाहेको ठाउँमा पुग्न नसकेका पर्यटकका लागि सुरक्षित अवस्था आउने बताउनुभयो ।

त्यस्तै, ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपालका अध्यक्ष निलहरी बास्तोलाले यस व्यवस्थालाई कार्यान्वयको पक्षमा लैजान संस्था प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । उहाँले सरकारले जटिल स्थानहरुलाई पथप्रदर्शक बिना जान र अनुमति लिएर मात्रै जाने क्षेत्रहरु सीमाङ्कन गरेको र यो व्यवस्थाले नेपालमा पर्यटकको आवागमनलाई झनै व्यवस्थित बनाउने बताउनुभयो । उहाँले कतिपय क्षेत्रबाट भने यो व्यवस्था हुन नहुने माग पनि आइरहेको बताउनुभयो ।

कञ्चनजंगा बेसक्याम्प, लुम्बासुम्बा पास ट्रेक, मकालु हिमाल बेस क्याम्प, शेर्पेनी क्लोज पास ट्रेक, एभरेष्ट बेसक्याम्प, गोकियो ट्रेक, च्छो ल्हा पास ट्रेक, गोकियो रेन्जो ला पास ट्रेक, हुम्ला लिमी भ्याली, उपर डोल्पा, राउण्ड धौलागिरी, उपर मुस्ताङ ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक, मनास्लु हिमाल, गणेश हिमाल, लाङटाङ, गोसाइकुण्ड, हेलम्बु, पाँचपोखरी र च्छो रोल्पा लगायतका स्थलहरुमा अनिवार्य रुपमा पथप्रदर्शक आवश्यक पर्नेछ ।

साेही क्षेत्रमा पदयात्रीको साथमा जाने १० वर्ष भन्दा कमका बालबालिकाको हकमा भने अनुमति पत्र लिनु नपर्ने जनाइएकाे छ ।

Share your love