पक्राउ पुर्जी जारी भएपछि देवाही गोनाहीका मेयर साहसहित तीन जना फरार

नक्कली परीक्षार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि रौतहटको देवाही गोनाहीका मेयर प्रेमलाल साह कानुसहित तीनजना फरार भएका छन्। आफ्नो नाममा अरुलाई एसइई परीक्षा दिन लगाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि मेयर कानुसहित तीन जना आरोपितहरु फरार भएका हुन्।

मेयर कानुसहित मौलापुर नगरपालिका–५ स्थित लक्ष्मीनिया मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष तेजनारायण साह र कुञ्जन साह फरार भएका हुन्। उनीहरु तीनैजना अदालतले पक्राउ पुर्जी जारी गरेको दिनदेखि नै फरार रहँदै आएको रौतहटका एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए। उनीहरुको खोजी कार्य जारी रहेको उनले बताए।

‘अदालतबाट पक्राउ पुर्जी जारी भएकै दिनदेखि मेयर कानुसहित तीनै जना फरार हुनुभएको छ,’ उनले भने, ‘हामीले खोजी गर्न प्रहरी परिचालन गरेका छौँ। देशभरिकै प्रहरी चौकीमा पनि खबर गरिसकिएको छ।’

देशभर जारी एसइई परीक्षाअन्तर्गत गएको चैत १९ गते आइतबार भएको गणित विषयको परीक्षा दिइरहेका नक्कली परीक्षार्थी गरूडा नगरपालिका–६ पोठियाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका साहको प्रवेश पत्रमा प्रेमलाल साह कानुको नाम थियो।

कमललाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा देवाही गोनाही नगरपालिकाका मेयर कानुले नै आफ्नो नाममा परीक्षा दिन लगाएको खुलेको थियो।

प्रवेशपत्रमा रहेको नामको तीन पुस्तेको आधारमा मेयर कानुको नाम नै आएपछि प्रहरीले मुद्दा दर्ता गरेको थियो। सोही मुद्दामा मेयर कानुसहित मौलापुर नगरपालिका–५ स्थित लक्ष्मीनियाँ माविका केन्द्राध्यक्ष साह र अनुसन्धानको क्रममा नक्कली परिक्षार्थी प्रकरणमा नाम खुल्न आएका कुञ्जन साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुवैलाई ६ महिना कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।

Share your love