नेपाल रेल्वेबाट दैनिक लाखौंको कपडा र गुट्खा तस्करी

कुर्था–जनकपुरधाम–जयनगर चल्ने नेपाल रेल्वेबाट दैनिक लाखौं रुपैयाँको कपडा र गुट्खा तस्करी भइरहेको छ । रेलबाट दैनिक भन्सार छली गरी कपडा र प्रतिबन्धित वस्तु गुट्खा तस्करी भइरहेको पनि भन्सार कार्यालय र प्रहरी मुकदर्शक बनेर बसेको छ । नेपाल रेल्वेको सुरक्षाका लागि सरकारले ५० जना सशस्त्र प्रहरी बलका डीएसपीको कमाण्डमा सुरक्षाकर्मी खटाएको छ । तर प्रहरी र भन्सार कर्मचारीको मिलोमतोमै तस्करी भइरहेको बताइन्छ ।
तस्करीमा संलग्न एक कारोबारीका अनुसार रेल सञ्चालन हुनु अघि प्रहरी प्रशासनलाई मासिक करिब पाँच लाख रुपैयाँ बुझाउनु पर्थ्यो भने रेल चल्न थालेपछि दुई लाखको हाराहारीमा बुझाएर कारोबार भइरहेको हो । उनका अनुसार तस्करले भन्सार कार्यालय र प्रहरीलाई मासिक बुझाउनुपर्ने हुन्छ । यसरी रकम बुझाएपछि दैनिक भन्सार छली गरेर भारतको जयनगरबाट कपडासहितको सरसामान आयात हुँदै आएको कारोबारीहरुको भनाइ छ ।

कुर्थादेखि जयनगरसम्म पाँच वटा स्टेशन र एउटा हल्ट छन् । अवैध तथा प्रतिबन्धित सरसामानहरु ल्याउनबाट रोक्न हरेक स्टेशनमा प्रहरी खटाइएको छ । तर, उनीहरु नै तस्करसँग सेटिङ गरेर यस्ता सामान ओसारपसारमा दैनिक सघाइरहेका हुन्छन् । सीमा पारीबाट आयात भएर आएका सामानको चेकजाँच जर्ने काम भन्सारको हो भने भन्सारलाई सुरक्षा दिने काम सशस्त्र प्रहरीको हुन्छ ।

तस्करीका बारेमा आफूलाई केही जानकारी नभएको नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रमुख सञ्चालक निरञ्जन झाले बताए । उनले के सामान कसले ल्यायो भनेर चेकजाँच गर्ने आफूहरुको काम नरहेको बताए । ‘भारतको जयनगरबाट रेल नेपाल आउँदा सीमा नजिकैको ईनर्वा हल्टमा चेकजाँच गर्न पाँच मिनेटको समय तोकिएको छ,’ उनले भने, ‘त्यो चेकजाँज गर्ने काम भन्सार र प्रहरीको हो । त्यसैले यसमा जिम्मेवार उहाँहरु नै हो । हामीले त यस्ता किसिमका अवैध कार्य रोक्न कार्यालय स्थापना गर्न भवनपनि प्रदान गरेका छौं ।’

धनुषाको जनकनन्दनी गाउँपालिकामा पर्ने ईनर्वा हल्टमा भन्सार छली र प्रतिबन्धित सामान नेपाल रेल्वेमार्फत भित्रिनबाट रोक्न छोटी भन्सार कार्यालय स्थापना गरिएको छ । जयनगरबाट भन्सारको सेटिङ र प्रहरीको सुरक्षाबीच जनकपुरधाम ल्याइएको सामान स्टेशनमै तस्करहरुले रेलबाट झार्छन् । जहाँ प्रहरीको बाक्लो उपस्थिति हुन्छ । तर पनि निर्वाध रुपमा अवैध रुपमा ल्याएको सामानहरु त्यहाँबाट बाहिर निकाल्दा पनि सम्बन्धित निकाय भने मुकदर्शक बनेर बसेका हुन्छन् ।

एकातिर मुलुकको अर्थतन्त्र खस्किदै गइरहेको छ भने अर्कातिर मुलुकका तिनै संयन्त्रबाट राज्यको कर छलीमा सघाउ भइरहेको देखिन्छ ।

Share your love