नेपाल टी–२० लिगमा जनकपुरकाे लगातार दाेस्राे जित

काठमाण्डाै – नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियाेगिताअन्तर्गत आज साेमवारको दोस्रो खेलमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्ग्सलाई पाँच विकेटले हराएको छ ।

विराटनगरले दिएको एक सय ४१ रनको लक्ष्य जनकपुरले अन्तिम बलमा पाँच विकेट गुमाएर भेटायो । जनकपुरका लागि चाडविक वाल्टनले नटआउट ६९ रन बनाए । यस्तै ट्रेभन ग्रिफितले २५ र शराफउद्दिन असरफले २३ रन बनाए । बलिङतर्फ विराटनगरका हुसैन तलत, नन्दन यादव र रिजन ढकालले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा ५ बलमा एक सय ४० रन बनाउँदा अलआउट भयाे । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ३८ र रोहित पौडेलले ३२ रन बनाए । बलिङतर्फ जनकपुरका ललित राजवंशीले पाँच तथा मोहम्मद आदिल आलम र केसरिक विलियम्सले दुई/दुई विकेट लिए । ललित नेपाल टी–२० लिगमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् ।

लगातार दोस्रो जितसँगै जनकपुर तालिकाको दोस्रो स्थानमा पुगेको छ । दुवै खेल हारेको विराटनगर पुछारबाट दोस्रो स्थानमा छ ।

 

Share your love