नेपाल आयरल्यान्डसँग २ विकेटले पराजित

आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्रसँग आयरल्यान्डसँग २ विकेटले पराजित भएकाे छ । योसँगै नेपालले १० वटा टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकेकाे छ ।

नेपालले दिएकाे २ सय ६९ रनकाे लक्ष्य आयरल्यान्डले ४९ ओभर २ बलमा ८ विकेट गुमाएर भेटायाे । आयरल्यान्डका लागि कर्टिस क्याम्फेरले ६२, हेरी टेक्टरले ६० रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ४, किशाेर महताेले २ तथा गुलसन झा र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

यसअघि जिम्बावेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनायाे । नेपालका गुलसन झाले नटआउट ५७ रन बनाए । यस्तै अर्जुन साउदले ४८, कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका मार्क एडर, बेरी म्याककार्थी र क्रेग याेङले २/२ विकेट लिए ।

नेपाल र आयरल्यान्डले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका हुन् । नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेलेकाे याे तेस्रो खेल पनि हो । यसअघि नेपालले जिम्बावे र वेस्ट इन्डिजसँग खेलिसकेको छ ।

Share your love