नेपाल आएलगत्तै चिनियाँ राजदूतकाे प्रतिबद्धता– ‘द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन पहल गर्छु’

नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङ नेपाल आइपुग्नुभएको छ । नेपालका लागि चीनको २२ औँ राजदूतको जिम्मेवारी सम्हाल्न उहाँ आज आइतवार काठमाण्डौ आइपुग्नुभएको हो ।

काठमाण्डौ आएलगत्तै ट्विट गर्दै राजदूत सोङले हिमालय वारपार चीन–नेपाल नेपाल मित्रता अमर रहोस् भन्नुभएको छ । यस्तै उहाँले नेपालमा चिनियाँ राजदूतको रूपमा काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको र नेपालको सौन्दर्य र संस्कृति देखेर चकित भएको उल्लेख गर्नुभएको छ । नेपाल–चीन सहयोगको पूर्ण सम्भावनालाई उजागर गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफूले पहल गर्ने उहाँले बताउनुभएको छ ।

राजदूत सोङले विकास तथा समृद्धि र स्थायी मित्रताको सहकार्यका लागि चीन–नेपाल रणनीतिक साझेदारीको नयाँ अध्याय सुरु गर्न तयार रहेको बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले चीन र नेपाल दुवैतर्फ महाधिवेशन र चुनावमार्फत नयाँ नेतृत्व आएको परिस्थितिमा दुवै देशका नेतृत्वले आपसमा मिलेर काम गर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँ यसअघि चीनको विदेश मन्त्रालयको एसिया मामिला विभागका उपमहानिर्देशकको रूपमा कार्यरत हुनुहुन्थ्यो । नेपालका लागि निवर्तमान चिनियाँ राजदूत होउ यान्छी दुई महिनाअघि फर्किएपछि राजदूतका रूपमा सोङ आउनुभएको हो ।

Share your love